झापा : प्रधानमन्त्री केपी शर्मा ओली केहि वर्ष अघि सम्म आफ्नो गृह नगर वा गृह जील्ला आउँदा भन्ने गर्थे ‘झापाका नदीहरुको पाता कस्छु ।’ यो उनको सुरु देखीकै चुनावी नारा थियो ।

अहिले पनि नदी, पुल सँग सम्बन्धीत कामका लागी झापा आउँदा पुरानै भाषणको सबैलाई स्मरण गराउँछन् । तर उनले बोलेको यो कुरा कहिले पुरा हुने हो भन्दै स्थानीय नागरिक भने पर्खेर बसेका छन् । दमक १० स्थित सेतुमारीकी मुना कोईराला केहि वर्ष अघि मावा खोलामा आएको बाढीका कारण थाकथलो नै छोड्नु परेको बताउँछीन् । उनी अहिले पनि सेतुमारीमै त बस्छिन् तर, पहिलाको घर भए भन्दा करिव २ किलोमीटर उत्तरमा । मावामा आएको बाढिले उनको घरसहित सम्पूर्ण सामान बगाईदियो । गोठमा बाँधेका गाई बस्तुलाई समेत एकै भेलमा बगाएपछि हम्मेहम्मे गरेर ज्यान जोगाएकी कोईराला अझै पनि आकाश गड्याङ गुडुङ गर्दा अतालीन्छीन् ।

आकाशमा कालो बादल लाग्ने बित्तीकै उनलाई आफ्नो घरखेत बगाएको कहालीलाग्दो दिनको याद आउने गरेको बताउँछीन् । अनि उनी सम्झन्छीन् ‘हाम्रा नेताले रतुवा मावाको पाता कहिले फकाईदेलान र ढुक्कको सास फेर्न पाइएला’ । प्रधानमन्त्री केपी शर्मा ओली मात्र हैन यहाँका स्थानीय नेताले समेत पटक पटक मावा रतुवाको पाता फर्काउने कुरा गरेको सम्झदै कोईराला नेतालाई प्रश्न गर्दै भन्छीन्, ‘वर्षौ देखी सुन्दै आएको त्यो पाता कहिले देख्नु ?’

यहाँ रहेको मावा नदिमा आएको बाढि गाउँमा नपसोस भनेर अहिले ३ किलो मिटरमा माटोको ढिस्को जस्तै गरि बाँध निर्माण गरिएको छ । हेर्दा कुनै दोबाटो जस्तो देखीने यो बाँध करिव ५ मिटरको उचाईको निर्माण गरिएको दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेले बताए । जनताको माग अनुसार आझै पनि तटबन्धको व्यवस्था हुन नसकेको वडाध्यक्ष न्यौपानेले बताए । जनताको तटबन्ध कार्यक्रम मार्फत मावा नदिमा बनाइएको ३ किलोमिटरको माटोको बाँध करिव ५ करोड रुपैँयाको लागतमा निर्माण गरिएको छ । तर यो बाँध स्थाई नभएका कारण ठुलो भेल आउँदा नथेग्ने भएकोले तारजाली ढुङ्गा सहितको स्थाई बाँध निर्माण हुनु पर्ने उनले बताए ।

जिल्लामा १५ प्रशित बाँध निर्माण सम्पन्न

जिल्लामा मुख्य गरि १० वटा नदि रहेका छन् । यी सबै नदिले वर्खाको समयमा विभिन्न ठाउँमा विभिन्न प्रकारको क्षती गर्ने गरेको अघिल्ला वर्षकै उदाहरणले प्रष्ट छ । तर नेपाल सरकारको उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको जलश्रोत तथा सिचाई विभाग अन्तर्गतको जनताको तटबन्ध कार्यक्रमले ६ वटा नदिमा मात्र बाँध निर्माण गर्ने काम गरिरहेको छ । रतुवा, मावा, कमल, कन्काई, बिरिङ र यो वर्ष देखी मेची नदि समेत गरेर ५ वटा नदिमा बाँध निर्माण गर्ने कामको जिम्मेवारी जनताको तटबन्धलाई छ । कार्यालय प्रमुख मेखनाथ शर्माका अनुसार अहिले सम्ममा जिल्लाको ६ वटा नदिमा गरि ४२ किलोमिटर मात्र बाँध निर्माण गरिएको छ । यो काम कुल कामको जम्मा १५ प्रतिशत मात्र हो । जम्मा ३ सय १७ किलोमिटर बाँध निर्माण गर्नु पर्ने भएपनि अहिले सम्म कुल लम्वाइको ४२ किलोमटिर मात्र निर्माण भएको छ ।

आर्थीक वर्ष २०६६/६७ मा ११ करोड ८९ लाख ७८ हजार रकम झापाका नदि नियन्त्रणका लागी पहिलो पटक आएको बजेट हो । त्यस यता निरन्तर फरक फरक बजेट आएको छ । हाल सम्ममा १ अर्व ६८ करोड ७० लाख ४४ हजार ७ सय ८२ रुपैँया रकम विभागले पठाईसकेको छ । अझै १ अर्ब बढिको बजेट आवश्यक पर्ने र सोहि अनुसारको डिपीआर गरि विभागमा बहुवर्षिय ठेक्काका लागी प्रस्तावना पत्र पठाइएको कार्यालय प्रमुख शर्माले बताए ।