इटहरी : ६ लेन सडक विस्तारको लागि इटहरी चौकमा रहेका रुख कटान भएपछि हरित नगरी इटहरी भन्ने नारा नारामा मात्र सीमित भएको छ ।

अहिले विराटनगरको रानी हुँदै इटहरी–धरानको ६ लेन सडक विस्तारका क्रममा यहाँ रहेका दर्जनौँ रुखहरु काटिए । रुखको छहारी मुनिको चौतारीमा बसेर थकाई मार्ने तथा गर्मीको समयमा सितलता दिने यहाँका सयौँ रुखहरु काटिएपछि यतिबेला आम मानिस त चिन्तित छन् नै तर अहिले सामाजिक सञ्जालमा पनि कवि, कलाकारहरु चिन्तित भएको स्टाटस पोष्टाईरहेका छन् । गत बुधबारदेखि इटहरीका रुखहरु काटिन सुरु भएको छ । रुखहरु काटिएसँगै इटहरीको रुप कुरुप बन्दै गईरहेको छ । कवि नवराज पराजुली फेसबुकमा लेखेकाछन्, – ‘तपाईं इटहरी सम्झिँदा के सम्झिनुहुन्छ?

itahari
मेरो लागि चाहिँ खलासी दाइ र भाईले इटहरी ! इटहरी !! भन्नु पर्दैनथ्यो । एउटा हातमा विराटनगर र अर्कोमा धरान समातेर यी रुखहरुले इटहरीको हरियो गीत गाउँथे । अब ठुटा मात्रै रहेछन् । ठुटासँग घाँटी छैन । अब कस्ले गाउँछ गीत ?’ उनले चिन्तित हुँदै लेखेकान्, ‘यी रुख काट्न लगाउनेहरुलाई थाहा होस् कि रुखले गाउने गीत सडक वा भवनलाई गाउन आउँदैन ।’ उनले सडक किनारमा रहेका रुखहरुले गीत गाउँने भएपनि सडक र भवनले नगाउने प्रति गहिरो चिन्ता व्यक्त गरे । केही दिनयताबाट इटहरी चोकको पनि ६ लेन सडक विस्तारको काम सुरु हुन लागिएको रुख कटान गरिएको सडक विभागका इन्जिनियर सागर बडालले जानकारी दिए ।

itahari 1

कलाकार बिक्रम श्रीले पनि चिन्ता प्रकट गर्दै फेसबुकमा लखेकाछन्,–‘रोपेर हुर्काउनु अनि थाहाँ हुन्छ पीडा ! मौसम अनुकूल थियो, कतिपय रुख बिरुवा सार्नु सकिन्थ्यो, धेरै बिरुवा आँफैले रोपेर पनि होला दुःखी भइयो, विगतमा पनि धेरै पटक दुःखी भइएको थियो । पहिले फेदै सम्म तातो पिँच गरेर मारिए धेरै रुख । हाँगा काट्ने समय थाहाँ नपाउने हजारौँले बच्चा कोरले पछि हाँगा काट्ने । रुख सहज ढंगले नकाट्ने जेसिबी लगाएर लुछ्ने । अहो कस्तो चेतना ...’ उनले रुख काँट्नु भन्दा पनि अन्तै ठाउँमा सार्न सकिने भएको भएपनि राज्य निरीह रहेको बताए ।

itahari 3

इटहरीका युवा कवि विकेश कविन पनि फेसबुकमा गहिरो चिन्तामा रहेको बताउँदै लेख्छन्–‘यहाँ बटुवाहरू टन्टलापुर घाम लागिरहेको बेला रुखको छहारीमा बसेर शीतल हावा खाने गर्दथे तर अब ? यहाँ बसेर बिहानै विद्यार्थीहरू स्कुल र कलेज जान गाडी पर्खिने गर्दथे तर अब ?, यहाँ बिहानै चराहरूले गीत गाएर वातावरण नै मन्त्रमुग्ध बनाइदिन्थे तर अब ?, यहाँ चराहरूको बासस्थान पनि थियो तर अब ?’
उनका अनुसार सडक बालबालिकाको रातको छहारी र दिनमा मकै पोलेर बेच्ने र बदाम बेच्नेको दैनिकी पनि रुख कटानले उराठ बन्ने बताउँछन् । उनी भन्छन्, ‘यहाँ मकै बेच्ने र बदाम बेच्नेको त दैनिकी छोडिदिउँ, घामको समयमा छहारी लाग्ने चौतारो र रुख छैन । यहाँ बर्षौदेखि हुर्काइएका रुख अन्तै सारिनुपथ्र्यो ।’
एउटा रुख काटेकोमा क्षतिपूर्ति स्वरूप २५ वटा नयाँ बिरुवा रोप्नुपर्ने नियम भएको भएपनि धमाधम रुख कटानले इटहरी उराठ बनेकोप्रति सर्बसाधारण मानिसहरु चिन्तित छन् । इटहरी देखि तरहरामा निर्माण भईरहेको ६ लेन सडकको बीचमा गार्डेन निर्माण भईरहेको छ । तरहरामा गार्डेन निर्माण भईसकिएको छ । गार्डेन निर्माण भईसकेपछि यहाँ रुख सार्न सकिने सरोकारवाला निकायको भनाई छ ।