धरान : तिज भन्ने बित्तिकै नाचगान र खानपिनको झझल्को आउछ । महिलाहरुको महंगो सारी र गरगहना प्रर्दशन गर्ने चाडको रुपमा तिज विकसित हुदै गएको छ । तर, आइतबारदेखि धरानमा तिजको अवसरमा फरक कार्यक्रम शुरु भएको छ ।
उद्यमी महिलाहरुको उत्पादनलाई बजारीकरण, प्रर्वद्धन गर्नुका साथै महिलाहरुलाई उद्यमशील हुन प्रोत्साहन गर्ने उद्देश्यले तीन दिने उद्यमी महिला मेला २०७५ शुरुवात भएको छ । आर्थिक समृद्धिको लागि महिला उद्यमी मेला भन्ने नारा दिएर शुरु भएको मेलामा धरान, इटहरी, विराटनगर, विराटचोकलगायत विभिन्न क्षेत्रबाट महिला उद्यमीहरु सहभागी छन् । धरान १० स्थित सैनिक भवनमा आयोजित मेलाको उद्घाटन आइतबार प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए । मेलामा सहभागी उद्यमी महिलाहरुले आफ्नो उत्पादनको बजारीकरण र प्रर्वद्धन गर्न पाएको भन्दै खुशी व्यक्त गरे । हातैले तिजको स्कार्फ, कमरबेल्ट तयार गरेकी धरानकी लक्ष्मी सुवेदीले उद्यमी महिलाहरुको उत्पादनको मार्केटिङ गर्न सहयोग मिलेको बताइन् । यस्तै, विराटनगरस्थित चम्पा सु सेन्टरकी सञ्चालिका चम्पा नेपालले पनि महिलाहरुको उत्पादनको प्रर्वद्धन गर्न सहयोग पुगेको धारणा राखिन् ।
प्रदेश सभामुख भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै देशलाई समृद्ध बनाउन महिलाहरु पनि उद्यमी बन्न आवश्यक भएको बताए । राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सम्मानजक भइरहेको भन्दै उनले उद्यमको क्षेत्रमा पनि महिलाहरुको उपस्थिति गर्विलो हुनुपर्ने बताए । ‘राज्यको हरेक निति निर्माण गर्ने, ऐन कानुन बनाउने ठाउँमा महिलाहरुको प्रतिनिधित्व छ, अब आर्थिक क्रान्ति गर्न उद्यमको क्षेत्रमा पनि लाग्नुपर्छ,’सभामुख भण्डारीले भने । हिन्दु नारीहरुले मनाउने चाड अचेल सबै जाति, जनजातिहरुले पनि मनाउन थालेर सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई वलियो बनाएको सभामुख भण्डारीले बताए । aIMG_3958
प्रदेश सांसद उमिता वराइलीले आर्थिक समृद्धिको वाहक महिलाहरु हुन नसके देशको आर्थिक समृद्धि हुन नसक्ने बताइन् । महिलाहरु पनि उद्यमशील हुन आग्रह गर्दै उनले महिलाहरु आफैले आफुलाई आवश्यक सामान उत्पादन गरेर आत्मनिर्भर हुन र रोजगारीको अवसर सृर्जना पनि हुने बताए । ‘हामी महिलाहरुलाई आवश्यक पर्ने सामाग्रीहरु मात्र पनि उत्पादन गर्नसक्यौं भने आत्मनिर्भर बन्छौं, देशलाई पनि व्यापार घाटा हुनबाट जोगाउछौं । किनभने महिलाहरुलाई चाहिने जतिपनि सामानहरु छन्, ति सबै विदेशबाट आयात हुन्छ,’उनले भनिन् । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मणिनारायण साह, नेकपाका नेता अइन्द्रबिक्रम बेघा, सञ्जालकी पुर्वअध्यक्ष मिना पुलामी, निवर्तमान अध्यक्ष शिला ब्रजचार्यले पनि मन्तव्य राखेका थिए ।
सञ्जालकी अध्यक्ष सविता राईले सानो लगानी गरेर उद्यमी बन्न प्रयत्नरत महिलाहरुको उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । ‘साना लगानी गरेका महिलाहरुले ठुलो बजारमा सामान पुर्याउन सक्दैनन्, उनीहरुलाई यस्तो बजारले प्रर्वद्धन गर्छ,’उनले भनिन् । मेलाको दोस्रो दिन सोमबार बिजनेश टु बिजनेट र अन्तिम दिन मंगलबार व्यावसायिक जीवन विमाबारे जानकारीमुलक कार्यक्रम आयोजना गरिने उनले बताइन् ।
मेलामा महिलाहरुले उत्पादन गरेको ढाकाको साडी, चप्पल, अल्लोको कपडा, चुरा, पोते, बुटिकका उत्पादन, सजावटका सामानहरुको स्टल छ । यस्तै, क्रिष्टल माला, अकबरे अचार, सुकुटीको अचार, गुडिया, माला, झोला, तिजमा महिलाहरुलाई आवश्यक पर्ने गरगहनाहरुको पनि स्टल छ । ‘महिलाहरुले हातले बुनेका, उत्पादन गरेका घरेलु, हस्तकलाका सामाग्रीहरुको स्टल छ, महिलाहरु चुला चौकामा मात्र छैनौ, उद्यमशील पनि छौं भन्ने यो मेलाले देखाएको छ,’सञ्जालकी उपाध्यक्ष सपना राईले भनिन् । मेला आयोजकले उद्यमीहरुलाई राहत दिन स्टलको शुल्क मात्र ५ सय लिएको जनाएको छ । सर्वशुलभ मुल्यमा सामाग्रीहरु बिक्रीमा राखिएको सञ्जालको भनाई छ । पहिलो दिन करिब ६० हजार बराबरको कारोबार भएको छ भने एउटा स्टलले २० हजारसम्म बिक्री गरेको आयोजकले जानकारी दिएको छ ।