धरान(डेस्क): नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत फागु्न १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोट गरायो । घटनामा एक जनाको ज्यानसमेत गयो । एकपछि अर्को हिंसात्मक घटनामा वृद्धि भएपछि सरकारले फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगायो ।

सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि विभिन्न कोणबाट प्रतिक्रियाहरु आइरहेको छ । कम्युनिष्ट नेतृत्वकै दुई तिहाई सरकारको बेलामा अर्को कम्युनिष्ट पार्टी प्रतिबन्धमा परेको छ । संयोग कस्तो छ भने कुनै बेला सँगै जनयुद्ध लडेका रामबहादुर थापा मगर यतिबेला गृहमन्त्रालयको कमाण्ड सम्हालेका छन् । प्रतिबन्धबारे जे जस्ता टिकाटिप्पणीहरु भइरहे पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको छैन । सरकारको निर्णयपछि धमाधम विप्लवका नेता, कार्यकर्ताहरु पक्राउ परिरहेका छन् । विप्लव समुहलाई अहिले ठुलो क्षति पुगिरहेको छ । यो पार्टी अहिले निक्कै संकटको अवस्थाबाट गुज्रिरहेको छ ।

biplop-koshi-beuro-incharge

प्रहरीका अनुसार नक्खुस्थित विष्फोटको घटना पछि मात्र विप्लव नेतृत्वका १ सय ८५ जना उच्चस्तरका नेतादेखि कार्यकर्तासम्म पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरु पश्चिमदेखि सुदुर पुर्वको जिल्ला मोरंग, सुनसरीसम्मै छ । फागुन १५ गते एम १६ र एलएमजीसहित धरानबाट कोशी ब्युरो सदस्य पक्राउ परेका थिए । त्यसपछि, अनुसन्धानको क्रममा केही दिनअघि मात्र कोशी ब्युरो इञ्चार्ज र अर्का कोशी ब्युरो सदस्य मोरंगको कानेपोखरीबाट समातिए । यसले कोशीमा विप्लवलाई ठुलो धक्का लागेको बताइएको छ । प्रहरी प्रधान कार्यालयसँग गएको बैशाखदेखि माघ सम्ममा मात्र ३ सय ३८ जना नेता तथा कार्यकर्ता पक्राउ परेको तथ्यांक छ ।

मंगलबारमात्र बाँकेमा विप्लवको सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सरकार र प्रहरी विप्लवप्रति कडारुपमा उत्रिएको छ । चैत १५ गते राजधानीमा लगानी सम्मेलन हुदैछ । विदेशी लगानी भित्र्याउने लक्ष्य राखिएको यो लगानी सम्मेलनलाई विप्लवको गतिविधिले असर पर्छ कि भन्नेमा पनि सरकार चिन्तित छ । यसले पनि सरकारले विप्लवप्रति कडा रवैया अपनाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १० को नक्खु विष्फोट पछि हालसम्म १ सय ५८ जना नेता कार्यकर्ताहरु पक्राउ परेको पुष्टि गरे ।

biplop-mao

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार काठमाडौंबाट २२ जना पक्राउ परेका छन् भने सिन्धुपाल्चोकबाट १७ जना समातिएका छन् । यस्तै, तनहुँबाट १२ जना, ललितपुरबाट १० जना र कास्की जिल्लाबाट ९ जना विप्लवका नेता, कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ । यस्तै, इलामबाट ८ जना समातेको छ भने प्रहरीले चितवनबाट ७ जना समातेको छ । यसैगरि, म्याग्दीबाट ६ जना, बाँके जिल्लाबाट ६ जना, अछाम ५ जना पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरी, सल्यान, सुनसरी, सोलुखुम्बु, बारा, रुपन्देही र पर्सा जिल्लाबाट ४/४ जना समातिएका छन् भने सर्लाही, कपिलवस्तु, कालिकोट, दाङ, नवलपरासी पूर्व, धनकुटा, प्यूठान, संखुवासभा र रोल्पा ३/३ जना प्रहरी फन्दामा परेका छन् । यस्तै, उदयपुर, डोल्पा, भोजपुर, रामेछाप, रुकुम पश्चिम, नवलपरासी पश्चिम, रौतहट, लमजुङ, पाँचथर, मकवानपुर, गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोट पनि १/१ जना विप्लवका नेता, कार्यकर्ताहरु समातिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकोमध्ये सबैभन्दा उच्च तहका नेता मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली(सुर्दशन) हुन् । उनी विप्लवको तेस्रो तहका उच्च नेता मानिन्छन् । यस्तै, विप्लवका कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ(पुस्कर), मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) पनि पक्राउ परिसकेका छन् । धरानबाट कोशी ब्युरो सदस्य देवकुमार लिम्बू, कोशी ब्युरो सदस्य माधव गौतम, सुनसरी जिल्ला सदस्य रमेश खड्कालगायत नेता, कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।