एजेन्सी:सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतमा भारतमा आजदेखि १७ औं लोकसभा(केन्द्रीय संसद) को निर्वाचन सुरु भएको छ ।

विभिन्न सात चरणमा हुने लोकसभा निर्वाचनको पहिलो चरणको मतदान १९ मेसम्म हुनेछ । यसपटक ९० करोड भारतीयहरुले मतदान गर्ने भारतको निर्वाचन आयोगले जनाएको छ । आज बिहीबार पहिलो चरणमा विभिन्न २० राज्यका ९१ लोकसभा सदस्यको लागि मतदान भइरहेको छ । ती मध्ये १८ राज्य र २ केन्द्र शासित प्रदेश हुन्छ । आज आन्ध्रप्रदेशको २५ , तेलंगानाको १७ , उत्तर प्रदेशको ८, महाराष्ट्रका ७, उत्तराखण्डका ५, आसामका ५, बिहारका ४, ओडिसाका ४, पश्चिम बंगालका २, जम्मुकश्मीरका २ स्थानमा मतदान हुदैछ ।

यस्तै, सिक्किम, नागाल्यान्ड, मिजोरम, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूहमा पनि लोकसभा सिटका लागि मतदान हुदैछ । आन्ध्रप्रदेश, अरुणाचल प्रदेश, सिक्किम र ओडिसामा भने विधानसभा चुनाव पनि भइरहेको हो । भारतीय जनता पार्टी(भाजपा)बाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारले विगत पाँच वर्षमा गरेको कामको अग्नीपरीक्षाकोरुपमा यो निर्वाचनलाई लिइएको छ । यो निर्वाचत परिणामले मोदीको राजनीतिक भविष्य पनि तय हुनेछ । सन् २०१४ को चुनावमा ५४३ मध्ये भाजपा एक्लैले २८२ स्थानमा जित हासिल गरेको थियो भने प्रमुख विपक्षी मात्र ४२ सिटमा खुम्चिएको थियो ।

ELECTION-2019.gpj

एनडीएमा भाजपासँगै शिव सेना र जनता दल युनाइटेड मुख्य पार्टी हो भने विपक्षी गठबन्धन यूपीएमा भारतीय राष्ट्रिय कंग्रेस, तेलगु देशम पार्टी, राष्ट्रिय जनता दललगायत क्षेत्रीय पार्टी छन् । गठबन्धनमा नरहेको ममता बेनर्जी नेतृत्वको पश्चिम बंगालको तृणमूल कंग्रेस, उत्तर प्रदेशका समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) पनि यूपीएकै साथमा रहेकोले मोदीलाई यो निर्वाचन स्न २०१४ को जस्तो सहज छैन ।

लोकसभाको सबैभन्दा बढी ८० सिट रहेको उत्तरप्रदेशमा ५ बर्षअघि भाजपा एक्लैले ७१ सिट जितेको थियो । त्यसबेला बसपा र सपा छुट्टाछुट्टै चुनाव लडेको थियो । तर, यसपाली राजनीति कोर्ष वदलिएको छ । उत्तर प्रदेशको राजनीतिमा प्रभावशाली यी दुई पार्टीले गठबन्धन गरेर चुनावी मैदानमा छन् । कंग्रेस अध्यक्ष राहुल गान्धीले बहिनी प्रियंका गान्धीलाई पार्टीको महासचिवमा मनोनयन गर्दै उत्तर प्रदेशको चुनावी बागडोर थमाएर पठाएका थिए । यसले कंग्रेसलाई उत्तरप्रदेशको चुनावी प्रचारमा निक्कै चर्चा दिलाएको छ ।

अघिल्लो निर्वाचनमा चायवाला भनेर प्रचार गरिएका मोदी यसपाली चौकीदार बनेर चुनावी प्रचारमा छन् । यसले चौकीदारी गरेर जिविको चलाइरहेका गरिब, निमुखालाई उडाएको भन्दै मोदीको चर्काे आलोचना पनि भइरहेको छ । चायवालाबाट ५ बर्षको लागि सत्ताको बागडोर बनाउन पुगेका मोदीलाई यसपाली चौकीदार बन्दा भारतीय जनताले पत्याउलान् कि नपत्याउलान् ? अबको एक महिनापछिको मतपरिणामले देखाउनेछ । (एजेन्सीको सहयोगमा)