धरान । गेटभित्र छिरेपछि कालोपत्रे पक्की सडक । आँगनमा पनि कालोपत्रे छ । आँगनमा ब्याडमिन्टन कोर्टसहितको पार्किङस्थल । धरान ८, भोटेपुलस्थित सभागृहको आँगन टेक्दा देखिइने दृष्य हो यो ।

चिटिक्क आँगन देखेर फुरुंग हुने मन सभागृहको अडिटोरियम हलमा छिरेपछि भने खिस्रिक्क हुन्छ । मुल ढोकाबाट भित्र छिर्दा छिर्दै ट्वाइलेटको दुर्गन्धले दिमाग रन्थनाउछ । हलमा पुगेपछिको दृष्य झनै अत्यास लाग्दो हुन्छ । कुनै सभा एवं कार्यक्रम भइरहदा अतिथिमाथि नै ‘फलसिलिङ’ खस्छ कि भन्ने जोखिम छ । सहभागी बस्ने कुर्सीहरु भत्किएका छन् । स्टेज पनि कतिबेला प्वाल पर्ने हो ठेगान छैन । बर्षातमा पानी चुहिन्छ । प्लाष्टर उप्किएर हल कुरुप बनेको छ । सभाहलको दुरावस्था यस्तो छ कि ठुलो भोल्युममा साउण्ड सिस्टम बजाउदा फललिसिङ खस्ला झै हुन्छ ।

सामाजिका संघसंस्था एवं राजनीतिक दलका ठुला कार्यक्रमहरु यही सभागृहमा आयोजना हुन्छ । यहाँ दलका शीर्ष नेतादेखि नेपाल सरकारका थुप्रै मन्त्रीहरुले पनि आतिथ्यता ग्रहण गरिसकेका छन् । सभागृहको यो अवस्था बषौंदेखि यस्तै छ । सभा हलको यो दुरावस्थाबारे जानकार भएर पनि धरान उपमहानगरपालिकाले केही गरेको छैन ।

आँगनमा लाखौं खर्च गर्ने सरकारी निकायले पनि सभागृहको जीर्ण अवस्था सुधार गर्न चासो दिएको छैन । टाउको दुख्दा पेटको उपचार गरेझै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय मोरङले ६० लाख भन्दा बढी रुपैया खर्चेर सभागृहसम्म पुग्ने बाटो कालोपत्रे गरेको थियो भने आँगनमा पनि चिल्याउदै पार्किङ बनाउन खर्चिएको थियो । तर, लथालिङ्ग अवस्थाको सभागृहको सभाहललाई सुधार गर्न भने खर्च गरेको थिएन ।

savagriha1

करिब २ बर्षअघि स्थानीय तहको चुनावताका सभागृह पुननिर्माण गर्ने आश्वासन नेताहरु दिएका थिए । तर, अहिलेसम्म चुनाव जितेकाहरुले सभागृहको रुप फेर्न केही गर्न सकेका छैनन् । बहुउद्देश्यीय सभागृह बनाउने प्रतिवद्धता जनाएका मेयर तारा सुब्बाको निधन भइसकेको छ । उनको निधनपछि कार्यवाहक मेयर बनेकी मञ्जु भण्डारी सुवेदीले पनि सभागृहको अवस्था सुधार गर्न ठोस योजना बनाएकी छैनन् । केही दिनअघि सुचना तथा पर्यटन महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभागृहबारे सोधिएको प्रश्नमा उनले भनिन्,‘प्रदेश सरकारबाट आउने ससर्त अनुदानबाट बनाउने भन्ने थियो । तर, अनुदान अपेक्षा अनुसार नआएकोले भएन । आगामी बजेटमा प्रदेश सरकारले बजेट दिने कुरा भएको छ ।’

सभागृहलाई ०६२ सालमा लथालिङ्ग अवस्थामा नै नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । सहरी भवन विभागबाट जिम्मा लिदा नै भवन नाजुक थियो । भुई भत्केको, भित्ता चर्केको, फलसिलिङ बिग्रेको थियो । विभागले ६ सय २५ सिट क्षमताको अडिटोरियम हल, एक पाले घर, एक टिकट घर रकम्पाण्डवालसहितको संरचना त्यतिबेला नगरपालिकालाई हस्तान्तरण गरेको थियो । ०६२ मा हस्तान्तरण भएपछि नगरपालिकाले सभागृह ०६४ मा ठेक्कामा नीति क्षेत्रलाई सञ्चालनको जिम्मा लगाएको थियो । नीतिकरण गरिदा सभागृहको अवस्था झनै बिग्रिन पुग्यो ।