पथरी: मोरङको पथरीशनिश्चरे क्षेत्रमा डेंगु नियन्त्रणका लागि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रण र्यापिड रेन्पोन्स टिमले मंगलबारदेखि लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियान थालेको छ ।

टोलीले पथरी बजार क्षेत्रबाट एजिप्टाई जातको पोथी लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालेको हो । यस वर्ष पनि डेंगु रोगको संक्रमण देखिएपछि अभियान थालिएको रेस्पोन्स टिमका संयोजक एवम् नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले वताए । अनुगमनका क्रममा शंकास्पद लार्भाहरु प्रसस्त भेटिएको थियो । टोलीले लामखुट्टेको सुरक्षित वासस्थानकारुपमा भेटिएका टायर, बट्टासहितलाई हटाउने र जम्मा भएको पानी नष्ट गर्न थालिएको जनाएको छ । सो टोलीले ग्यारेज, टायर पसल, तथा होटलहरुमा अनुगमन् गरेको हो । सफा पानी जम्न नदिनका लागि स्थानीयलाई सचेत गराइएको छ ।

रेन्पोन्स टिमका संयोजक आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर वस्नेत, जनस्वास्थ्य अधिकृत उत्सव पोखरेल, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधिसहित जनप्रतिनिधि र प्रहरीले लामखुट्टे वस्ने ठाउँको पहिचान गर्दै बासस्थान नष्ट गर्नुका साथै डेंगुबाट बच्ने उपाय सर्वसाधारणलाई जानकारी गराइएको छ । गमला, एसी, कुलर, सहितका ठाउँमा लामखुट्टेले फूल पार्ने भएकोले त्यस्ता ठाउँमा पानी जम्न नदिई पानी फेरिरहन आग्रह गरिएको छ । डेंगुबाट वच्न बजारमा माइकिङ समेत गरिएको छ ।

pathari-dengu2

साँझ पथरी बजारमा लामखुट्टे मार्नका लागि धुलो विषादी उडाइने भएको छ । डेंगुको संक्रमण फैलिन सक्ने वजार तथा घनावस्ती भएका क्षेत्रमा लामखुट्टेको वासस्थान नष्ट गर्ने र विषादी हान्ने काम निरन्तर अघि बढाइने नगरपालिका कार्यालयले जनाएको छ । पथरीशनिश्चरे ४ को शान्ति चोकका ३९ वर्षीय अरुण राईलाई डेंगुको संक्रमण भएपछि सोमबारदेखि रेन्पोन्स टिमको सचेतनाको अभियान सुरु गरेको हो । डेंगु विरामी राईको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

अत्यन्तै घना वस्ती रहेको पथरी बजार क्षेत्रमा टायर, बट्टा सहित सफा पानी जम्मे ठाउँहरु प्रसस्त रहेकाले लगातार डेंगुको संक्रमण देखिदै आएको छ । त्यस्ता ठाउँहरु सरसफाई गर्ने कुरामा स्थानीय स्वयम्को भनें खासै सक्रियता देखिएको छैन । लगातार रुपमा ग्यारेजहरुको टायरमा डेंगुको लार्भा भेटिदै आएको छ । पूर्वपश्चिम मुख्य सडक उत्तरमा टायरहरु अव्यस्थित रुपमा राख्ने र त्यसलाई अटाउने कुरामा पसलेले लगातार वेवास्ता गर्दै आएको देखिन्छ । गत वर्ष लामखुट्टे मार्न नगरपालिकाबाट विषादी छर्किने काम भएपनि लामखुट्टेबाट हुने औलो रोगसमेत नगरमा देखा परेको थियो । डेंगुले नगरमा गत वर्ष २ जना र त्यसभन्दा अघिल्लो वर्ष पनि २ जना विरामी परेका थिए ।