धरान: बुधबार मध्य राती १२ बजेदेखि मौन अवधि शुरु भएसँगै विभिन्न दल तथा उम्मेदवारहरुको उपनिर्वाचन प्रचारप्रसारका सम्पुर्ण कामहरु रोकिएको छ । वृहत प्रचारप्रसार अभियान रोकिए पनि दल र उम्मेदवारहरु मतदाताहरुसँग गोप्य भेटघाट गर्न भने छोडेका छैनन् ।

निर्वाचन आचारसंहिताले मौन अवधि शुरु भएपछि मतदातासँग उम्मेदवार तथा नेताहरुले भोट भाग्ने, आश्वासन बाँड्ने काम बन्द गर्नुपर्छ । तर, यो आचारसंहिता पुर्णरुपमा लागु हुदैन । दलका नेता तथा उम्मेदवारहरु यही मौन अवधिमा धेरै सक्रिय हुन्छन्, र मतदाताहरुलाई प्रभावित बनाइरहेका हुन्छन् । त्यसैले निर्वाचनको मौन अवधि राजनीतिक दल र उम्मेदवारहरुको लागि धेरै खतरनाक समय हुन्छ । यही बेला न्युट्रल(तटस्थ) रहेका मतदाताहरु कस्लाई भोट हाल्ने भनेर निर्णय गर्छन् । जो उम्मेदवारको पहुँच त्यस्ता मतदातासम्म पुग्छ, निर्णायक मत उसैले पाउने भएकोले आचारसंहिता विपरीत भएपनि दल र उम्मेदवारहरु मौन अवधिमा सक्रिय हुने महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक डा.अमृत श्रेष्ठ बताउँछन् ।

झण्डै एक महिना चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान गरेका दलहरुको मेहनत यही मौन अवधिले तुहाई दिनसक्छ । ‘निर्णायक भोट नै चलायमान मतदाताहरु हुन्, जसले तान्न सक्यो, उसले जित्छ,’सहप्राध्यापक डा.श्रेष्ठ भन्छन्,‘उनीहरु भोट हाल्ने दिन वा अघिल्लो दिन कस्लाई भोट हाल्ने भनेर निर्णय लिन्छन्, त्यसैले उनीहरुलाई आफ्नो पक्षमा पार्न मौन अवधिमा बढी चलखेल हुने हो ।’
नेपाली कांग्रेसका जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र तामाङ मौन अवधिमा मतदातालाई प्रलोभन र आश्वासन बाँडिने गरेकोले यसपाली निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई कडाई गर्न आफ्नो पार्टीले आग्रह गरेको बताउँछन् । मौन अवधिमा विभिन्न संघसंस्था, क्लबहरुलाई उनीहरुको आवश्यकता पूर्ति गरिदिने वा पैसा बाँड्ने लगायतको कार्य गरेर मत किन्ने विगतको चुनावबाट देखिएको उनको भनाई छ । ‘यसपाली त्यस्तो नहोस् भनेर निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई कडा गर्न भनेका छौं, हामी पनि निगरानी बढाइरहेका छौं,’उनले भने ।

नेकपाका जिल्ला सचिव तथा उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेत भने अहिले आफुहरु मतदान केन्द्रको प्राविधिक र कानुनी प्रक्रियामा ब्यस्त रहेको बताए । मौन अवधिमा अनावश्यक भ्रम र हल्ला फैलाउने, प्रलोभन देखाउने कामहरुलाई मतदाताहरु आफैले पनि चिर्न आवश्यक हुने उनले बताए । ‘मौन अवधिमा मतलाई फेरवदल गराउने, अनावश्यक हल्ला र भ्रम फैलाउने काम हुनसक्छन्, आश्वासनको खेती गर्न सक्छ, त्यसप्रति सबै र मतदाताहरु पनि सचेत हुन आवश्यक छ,’बस्नेतले भने,‘हामी मतदानको प्राविधिक र व्यवस्थापकीय तयारीमा जुटेका छौं, र आफ्नो मतदातालाई प्रलोभन दिनेहरुबाट कसरी सुरक्षित राख्ने भनेर जुटेका छौं ।’