धरान: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी जनयुद्धको तयारी देखि नै उत्पीडित जातीय वर्गको उत्थान र विकास गर्दे पहिचानवादी मोर्चामा उभिएर सङ्घर्ष गरेको पहिचानवादी पार्टी भएको बताएका छन् ।
उनले भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’
पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका व्यक्ति र दलहरू माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्ने अभियान मा लाग्नुपर्ने आव्हान गरे ।
धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको बताए ।
उनले भने‘यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य छ ।’
माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताद्वारा निर्माण गरिएको संविधानलाई संशोधन मार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने पक्षमा रहेको उनले बताए ।
प्रचण्डले भने ‘शान्ति प्रक्रियामा आएपछि हामी जनताबाट थोरै टाढा जस्तै थियौँ भन्ने निष्कर्ष सहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमिक्षा गरिएको छ ।’ अब माओवादी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा लागेको उनको भनाई थियो ।
सरकारको नेतृत्वमा रहँदा माओवादीले देश र जनताको पक्षमा काम गर्ने कोसिस गरेको उनले बताए भने ‘समावेशी पूर्वाधार विकास अभियान स्वरूप मध्य पहाडी लोक मार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण कोरिडोरहरू निर्माणको थालनी भयो ।’
भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा भएको उनले बताए ।
तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उनले दाबी गरे । प्रचण्डले भने ‘मैले छानबिन गर्दा आफू विरुद्ध पनि अनुसन्धानको सुई देखा परेको खण्डमा मलाई पनि नछोड्नू भनेर प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ ।’
भ्रष्टाचार विरुद्ध सुशासनको अभियानमा आफ्नो अर्का कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचार विरुद्ध निर्मम अभियान अघि बढाएको उनको भनाई छ ।
आफ्नै कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गरिएको, मिटर ब्याजको समस्याको समाधान गर्न पहल गरिएको बताए ।
आर्थिक सुधारको दिशामा महत्त्वपूर्ण काम भएको बताउँदै उनले सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको उल्लेख गरे ।
प्रचण्डले भने ‘मैले धरानका नगर प्रमुख हर्क साम्पाङ लाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु, घरीघरी उनलाई के हुन्छ ? साम्पाङले माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन ।’